न्यूयोर्क राज्यका प्रथम सिनेटर – शंकर भण्डारी

न्यूयोर्क लङ्ग आइल्याण्ड निवासी शंकर भण्डारी एक सरल, मिहिनेति र विशाल हृदयका व्यक्तित्व हुनुहुन्छ। सामाजिक काममा जहिले पनि तत्पर रहने तर कुनै पद, पुरस्कारको, वा मानपदवीको लोभ नगर्ने भएर पनि होला, उहाँलाई चिन्ने सबैले उहाँको प्रशंसा गर्छन। कसैसंग बैरभाव छैन। सरलता छ, मानवता छ, परीवारीक मूल्य मान्यता छ, सामाजिक संस्कार छ र नेपाली हुनुमा गर्व छ। न्यूयोर्क राज्यका प्रथम सिनेटरको रुपमा शंकर भण्डारी ज्युले दिनुभएको एक हजार अमेरिके डलर र अन्य केही रकम थप गरेर समता ग्लोबल सिनेटले समता स्कूलको ललितपुर स्थित भवन निर्माणको लागी २९,२४५ डलर उपलब्ध गराएको थियो। यसै गरी हरेक बर्ष सहयोग गर्दै जाने लक्ष्य राखिएको छ।  

सिनेटर शंकर भण्डारी र श्रीमती रुपा भण्डारीले मातृभूमीको भ्रमणको क्रममा काठमाण्डौंको बौद्ध स्थित सिनेटको पार्ट्नर स्कूल समता स्कूलको अवलोकन गर्नुभएको छ। यो भ्रमणको अबसर प्रदान गर्नु हुने समता शिक्षा निकेतनका संस्थापक श्री उत्तम संजेल ज्यू तथा समता बिध्यालय परिवारप्रति सिनेटर भण्डारीले हार्दिक धन्यबाद व्यक्त गर्दै विद्यालय र विद्यार्थी भाइ-बहिनीहरूको उज्जल भविश्यको कामना समेत गर्नुभएको छ।

उहाँले कडा मिहिनेत गरेर कमाएको नगद एक हजार डलर मात्र दिनुभएको छैन, हार्दिकताका साथ अतिथि सत्कार र कार्यक्रम व्यवस्थापनमा महत्वपूर्ण सहयोग गरेर यो विरुवा हुर्काउन उहाँले दिएको समय, साथ, र समर्थनको त कुनै मूल्य नै छैन। हुनत उहांलाई यस्ता कुराको खासै मतलव हुंदैन, तर सिनेटर भण्डारीको कथा इतिहासका पानामा सुनौला अक्षरले लेखिनुपर्छ भन्ने हाम्रो मान्यता रहेको छ। 

गत वर्ष समता ग्लोबल सिनेटको स्थापना हुंदै गर्दा उहाँले नेपालबाट आउनुभएका विशिष्ट अतिथिहरु र सिनेटका पदाधिकारीलाई आफ्नो घरमा भोजन र आवास, र यातायातको व्यवस्था गर्नुभएको थियो। उहाँको लङ् आइल्याण्ड स्थित निजि निवासमा उहाँकि धर्मपत्नी रूपा भण्डारीले अत्यन्तै प्रेमल भावले स्वादिष्ट भोजन बनाएर हाम्रा अतिथिहरुलाई खुशी पार्नुभएको थियो। “भोक लाग्या त थिएन, शुरुमा नाई नाई भन्दै थिएँ, तर पनि यो खाना यति मिठो रैछ, थपेरै खान पर्ने भो! त्यसो गरे कसो होला?” हरिवंश आचार्यले रमाइलो पारामा थप खान माग्दै भन्नुभयो। “भाउजुको माया र खानाको त बयान गरी साध्य छैन,” एक स्थानीयले थपे। 

समता स्कूलका संस्थापक उत्तम संजेल र समता ग्लोबल सिनेटका अध्यक्ष उत्तम गौली पनि सिनेटर भण्डारीकै निजि निवासमा बसेका थिए।

“हामी सिनेटर भण्डारीको घरमा बस्दा उहाँका माता पिता पनि साथमा हुनुहुन्थ्यो। हामीले बुवासंग निकै भलाकुसारी गर्ने मौका पायौं,” गतवर्ष आफ्नो पिता गुमाएका उत्तम गौलीले भने, “बुवासंग कुरा गर्दा मलाई आफ्नै बुवा भेटेजस्तै महसुस भयो।” 

आफ्नो जन्मभूमि आन्तरिक द्वन्द्वाको कहरबाट गुज्रिंदै गर्दा आफू र आफ्नो दाजू समेत नेपाली सेनामा कार्यरत हुंदाको स्मरण गर्दै सिनेटर भण्डारी भन्नुहुन्छः जननी जन्म भूमिश्च स्वर्गदापी गरियसी! हालसालै जन्मभूमिको यात्राम रहनुभएका सिनेटर भण्डारीले त्यसाबेला आफ्नो परिवार गाउंबाट  बिस्थापित  हुनु परेको, बम बिष्फोटबाट घर ध्वस्त भएको, र गाउं फर्कने  बाताबरण नभएको स्मरण गर्नुहुन्छ। 

“म सेनाको जागिर छाडेर आफ्नो जन्म स्थान टेक्ने प्रबल इच्छा हुंदा हुदै पनि  बिबस भएर बिदेशको यात्रा तय गर्नु पर्यो। समयको काल खण्डसंग संगै गाउंका पूराना घरहरू सहित अधिकांश भौतिक संरचनाहरू २०७२ सालको भूकप्पबाट ध्वस्त भए । आज ति पुराना परम्परागत शैलीका घरहरू देख्न लगभग मुश्किल नै छ ।  परिबर्तनशिल समयको बहाब संगसंगै यसपाली करिब २२/२३ बर्ष पछि पुनः मेरो जन्म स्थान (त्रिपुरा सुन्दरी ५ कास्टे, धादिगं) मा सपरिबार ८/९ दिन संगै बस्ने, छरछिमेक र इष्टमित्रसंग भेट्ने, मेरा बाल सखाहरूसंग भला कुसरी गर्ने मौका जुर्यो। जुन कुराले मलाइ जिन्दगीको सबै भन्दा ठूलो खुशीको अनुभूती भएको छ ।”

व्यक्तिगत स्वार्थ संग दूरी बनाइराख्न सक्ने यी कर्मयोगिमा अरुको लागी सोच्न सक्ने क्षमता छ। उहॉंले कसैलाई भेदभाव गर्नुहुन्न। उहॉंको 

चरित्र संधै उत्कृष्ट छ, उत्तम छ। बोलिचालीमा स्पष्टता छ र व्यवहारमा अद्भुत सहजता झल्किन्छ। 

अमेरिकामा बसोबास भएपनि उहॉंको मन भने नेपाल पुगीरहन्छ। “म आज भाग्यले भनौं या कर्मले या भनौं समयको प्रबाहले बिदेशमा छु,  बिदेशमै रहेता पनि सबै राम्रै छ, सन्तोष छ । तर पनि कता कता मनको कुनामा अभाव र अतृप्तीको महसुसले सताउने गर्दछ । त्यो हो मेरो जन्म घर, जन्म स्थान र आफन्त अनि साथीाभाइको याद । हर हमेशा राती सपना पनि गाउंकै देख्ने गर्छु। अनि म संझन्छु, जन्मिदा मेरो “ नाभी” त्यही ठाउंमा गाडिएको भएर होला। हाम्रो बैदिक धार्मिक परम्परा अनुसार पनि हामी जहां मरे पनि “अस्तु” सेलाउन आफ्नै जन्म स्थान नजिक घाटमा लैजाने प्रचलन छ । मैले ९।१० दिनको बसाइ पश्चात आफू जन्मेको ठाउंको एक मुठी माटो साथमा लिएं र जमिनलाइ साष्टंग ढोग गरी बिधाइ भएं । मैले संझें कि साहेद त्यसैले भनिएको रहेछ “आमा र जन्म स्थान स्वर्ग भन्दा पनि प्यारो हुन्छ “। जय मात्त्रृ ,जय पित्त्रृ, जय जन्मभूमी, “सर्बे भबन्तु सुखिन, सर्बे सन्तु निरामय”॥

Leave a Reply

Your email address will not be published. Required fields are marked *